सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए । ‘सबै गर्न सकिँदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरू अघि बढेको उनले बताए ।

‘तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्री बनेकाहरूले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्’, उपप्रधानमन्त्री लामिछानेले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उनले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरू उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरूप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

‘प्रदेश संरचनालाई लिएर धेरै जिज्ञासा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ’, उनले भने । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिईकन परिवर्तनका लागि आफूहरू मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =