म प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ, अघिल्लो पटक पनि रहर थिएन : माधव नेपाल 

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । बुधबार समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको उनको दाबी छ । ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नु पर्छ भन्ने हो,’ अध्यक्ष नेपालले भने, ‘त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधानमन्त्री बनेको बताए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नु भयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनि मात्रै बनेको हो’, उनले भने ।

अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको बताए । ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो,’ अध्यक्ष नेपालले भने, ‘दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम–गयाराम भइरहन्छ । गयाराम भन्दा आयाराम बढी छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =