सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल सम्मानित

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सम्मान गरिएको छ ।
पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।
उनले यही जेठ ७ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।
पौडेललाई सम्मान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक संगठनको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहणले हिमाली भेग तथा हाई अल्टिच्युडका भू–भागहरुमा समेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीहरुलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित भई परिचालित हुने बताए ।
उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सशस्त्र प्रहरी निरीक्षक पौडेललाई हौसला प्रदान गरिएको स्मरण गर्दै उच्च जोखिम एवं जस्तोसुकै परिस्थितीमा पनि आफुलाई जित्न सक्यौ भने असम्भव भन्ने केही पनि नहुने बताए ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालमा ईतिहासका रुपमा रहने उल्लेख गरे ।
उनले सशस्त्र प्रहरी नेपालको हिमाली भेगमा सीमा सुरक्षा गर्न तथा हाई अल्टिच्युडमा परिचालित हुन सक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको बताए । उनले सक्षम नेतृत्व र प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
यस्तै अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनको कुशल नेतृत्वको कारण सशस्त्र प्रहरी बलको तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल र संगठन प्रमुखप्रती हार्दिक आभार प्रकट गरेका थिए ।
कार्यक्रममा सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले नेपाल र संगठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएकोमा गर्व महशुस गर्दै कार्यक्षेत्रमा सदैव संगठनको हितमा समर्पित रहि परिचालित हुने समेत बताए ।









नेपाल ले नै गर्व गर्न लायक तथा सशस्त्र प्रहरी को सान इन्सपेक्टर सुरज पौडेल सर लाई बधाइ एबम उज्जवल भबिस्य को शुभकामना ||