बालेनलाई योगेशको जवाफ– हामीले जेल बसेर ल्याएको व्यवस्थामा मेयर हुनुभएको छ, खिसिट्युरी नगर्नुस्

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरी गरेको भन्दै आपत्ती जनाएका छन् ।
उनले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाए ।
उनले देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए ।
‘मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो । हामीलाई दुख लागेको छ । केपी ओली,शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल,महन्त ठाकुर,अशोक राई,उपेन्द्र यादव लगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन’ उनले भने,‘त्यस बापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ । ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने । हामी भन्न चाहन्छौं ।’
उनले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताए । उनले कसैले पनि एमाले माथि कसी लगाउन नपर्ने बताए ।
उनले महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गरे ।








