एकसाथ शाखा अधिकृत बनेको यो जोडी

काठमाडौं । श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरै जोडी भेटिन्छन् । निजामती सेवामा भएका जोडीमध्ये पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरू पाइन्छ ।
तर यस पटक विरलै संयोग भेटिएको छ । जुन जुरेको छ गुल्मीका एक दम्पतीलाई । लोकसेवा आयोगले गत फागुन १ गते मंगलबार २१७ जना अधिकृतहरूको नतिजा सार्वजनिक गर्दा धुर्कोट गाउँपालिका-६ का सुरेन्द्र पाण्डे र श्रीमती रमिता विष्ट शाखा अधिकृत पदमा सिफारिस भएका हुन् ।
२०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका सुरेन्द्र गत वर्ष नायब सुब्बामा बढुवा भएका थिए भने रमिता २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश गरी गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नासुमा सिफारिस भएकी थिइन् ।
निजामती प्रशासनमा एक पछि अर्को रेकर्ड ब्रेक गरिरहेको छ गुल्मीले । एकै वर्षमा १० वटा लोकसेवाका परीक्षा पार लगाएर गुल्मीका युवाले रेकर्ड कायम गरेका छन् । त्यहीबाट अहिले १३ जना शाखा अधिकृत थपिएका छन् । जसमध्येका हुन सुरेन्द्र र रमिता । यसपटक गुल्मी जिल्लाबाट १३ जनाले शाखा अधिकृतमा नाम निकालेका हुन् ।








