अर्थमन्त्रीले ठूलो राजनीतिक दबाबका बीच पनि १८ खर्ब ६० अर्बको बजेट ल्याए : महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको बताएका छन् ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार संघीय संसदमा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए ।

गभर्नर अधिकारीले कानुनअनुसार नै माघमा गरिएको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे । उनले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानुनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको उल्लेख गरे ।

उनले विशेष गरी दातृ निकायको प्रतिवद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि आँकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक स्रोत तथा वित्त आयोगले आँकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताए ।

उनले डेब्ट टु जिडिपी अनुपातका आधारमा आगामी आ.व.को बजेट भएकाले आगामी आ।व।कै जिडिपीको अनुपातमा आन्तरिक ऋणको लक्ष्य राखिएको बताए । उनले गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भएपनि बजेट सानो आकारमा आएको बताए ।

उनले भने ‘हामीले स्रोत अनुमान गरिराख्दा समितिले माघको १५ गते जुन सिफारिस गरेका थियौँ । त्यस अनुमानमा केही परिमार्जन भएका छन् । वैदेशिक अनुदानमा वृद्धि हुने अर्थ मन्त्रालयको नेगोशेसन समावेश भएको छ । वित्त आयोगको पछिल्लो सरकारलाई सिफारिस छ । त्यसमा पनि केही फरक परेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५.५ प्रतिशत आन्तरिक ऋण लिन सकिने सिफारिस गर्नुभएको छ । अहिले प्रदेश र स्थानीय तहले ऋण उठाउने कानुनी र नीतिगत व्यवस्था नभएकाले संघीय सरकारसँग थप आन्तरिक ऋण उठाउन सक्ने स्पेस रहेछ ।

राजश्व परिणाममा पनि केही पछिल्लो आउने सालको झन्डै ६ प्रतिशतको वृद्धि हुने भएकाले अर्थ मन्त्रालयको सबै परिमार्जन कानुनअनुसार नै गरिएको हो । बजेट सिलिङको माघमा गरेको सिफारिसलाई जेठ १४ गते पुनरावलोकन गरेका छौं । नरमल अभ्यास त्यही हो । माघमा बजेट सिलिङ तोक्छौँ र बजेट भन्दा अगाडि बीचमा भएका विकासक्रम र अन्य तथ्यहरूलाई खाल गर्दै कानुनी रुपमा पुनरावलोकन गर्ने व्यवस्था छ । मंगलवार जुन बजेट आएको छ । त्यो बजेटको आकार पनि नयाँ सिलिङभित्र नै छ । आगामी आर्थिक वर्षको जिडिपी ६३ खर्ब रुपैयाँ हुने प्रक्षेपणका साथ ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।’

अर्थसचिव मधुकुमार मरासिनीले स्रोत अनुमान समितिले माघमा दिएको बजेट सिलिङ जेठसम्म आउँदा स्वाभाविक रुपमा बढ्ने बताए । उनले बजेट सिलिङपछिका आवश्यकता र विकासक्रमका आधारमा बजेटको आकार वृद्धि हुने अवस्था रहेको बताए । उनले बजेटको सिलिङ पछि मन्त्रालयगत रुपमा आयोजनाहरू थपिने भएकाले समावेश गर्दा आकारमा तलमाथि हुने गरेको बताए । उनले त्यस्तो हुने भएकाले स्रोत अनुमान समितिले बजेटको अघिल्लो दिन सिलिङ पुनरावलोकन गर्ने कानुनी व्यवस्था हुने गरेको बताए ।

उनले बजेटको सिलिङ बढाएको कुरा बाहिर सामान्यतया ल्याउने नगरिएको बताए । उनले सरकारले संसदमा पेस गरेको बजेटको आकार भन्दा सिलिङ बढी रहेको बताए । उनले अर्थमन्त्री ठूलो राजनीतिक दबाबका बीच पनि १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *