गए रातिको हुरीबतासले झापामा करोडौँको क्षति

झापा । गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पुर्‍याएको बताए । उनका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युत्का खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ ।

मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए । उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताए । सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट १० लाखबढीको क्षति पुगेको बताए ।

नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताए ।

मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छ भने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ ।

धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ । त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पुर्‍याएको सूचना अधिकारी चन्दले जानकारी दिए । उनले क्षतिको थप विवरण सङ्कलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *