छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ । कैलाली, भजनी नगरपालिका–७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मिनी ट्रकमा सवार धनगढी उपमहानगरपालिका मनेरा बस्ने ५५ वर्षीय जुगराम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मिनि ट्रकमा सवार ३ जना मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका–५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बाग्लुङ, बाग्लुङ नगरपालिका–१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








