रविको नाम नलेखिएपनि सिम्बोल नम्बर र ठेगाना लेखेर समिति बन्यो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीबारे छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामको ठाउँमा सिम्बोल नम्बर राखिएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाबाट संसदीय छानबिन समिति गठन भएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसको माग बमोजिम नै लामिछानेको सिम्बोल नम्बर र ठेगाना लेखिएको बताएका हुन् ।

‘नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ– गोरखा मिडिया नेटवर्क भनेर,’ उनले भने ।

परीक्षामा नामको सट्टा सिम्बोल नम्बर लेखिने गरिएको भन्दै महामन्त्री शर्माले छानबिन समितिको दायरामा लामिछाने आउने गरी संसदीय छानबिन समितिको कार्यादेश बनेको बताए ।

महामन्त्री शर्माले आफूहरूले तीन महिनादेखि संसदीय छानबिन समिति माग गरेको स्मरण गर्दै अब पीडितका लागि काम गर्ने विश्वास व्यक्त गरे ।

‘समितिले पूर्वाग्रहमुक्त भएर काम गर्नेछ भन्ने विश्वास गरौँ । सहकारी ठगीसँगै गिरीबन्धुलाई जोगाउन लाग्ने छैन भन्ने अपेक्षा गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *