भक्तपुरको चाँगुनारायणमा डोजर आतङ्क

भक्तपुर । भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ । कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ । नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले प्राकृतिक वातावरण नै खल्बल्याउन थालेपछि साना डाँडा भाँसिन थालेका छन् । भीर, पहिरोमा समेत डोजर चलाउने गरेपछि थप समस्या भइरहेको छ ।

तपाईं यो क्षेत्रमा जानुभएको छ भने पक्कै यस्तै देख्नुभएको होला ! यो समस्या हिजोआजको भने होइन । यहाँ वर्षौदेखि यस्तै भइरहेको छ । समस्याबारे स्थानीयले आवाज नउठाएका पनि होइनन्, राज्यका निकायहरूले पनि समस्या समाधानका लागि पहल गरिरहेकै छन् । कहिले राष्ट्रिय सर्तकता केन्द्र त कहिले अख्तियारले लिखित पत्र काटेर समस्या समाधानको पहल गर्ने गरेका छन् तर पनि वर्षौंदेखि समस्या यथावत छ ।

स्थानीयवासीले स्थानीय तहबाट स्वीकृत लिएर वा नलिएर वर्षौदेखि यस्ता गतिविधि भइरहे पनि समस्या समाधानको ठोस पहल नभएको आरोप लगाउने गरेका छन् । यस्ता गुनासाबारे सरोकार भएकाहरूसमेत बेखबर छैनन् । यस्तै गुनासा सुनेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यही जेठ ११ गते नगरप्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर गुनासाबारे ध्यानाकर्षण गराइन् ।

छलफलपछि नगरपालिकाले डोजर चलाउन दिएका सबै इजाजत रद्द गर्ने सहमति भएको थियो । ‘हामीले अवैध बालुवाखानी सञ्चालन गर्ने, अव्यवस्थितरूपमा डोजर चलाउने भनेर उजुरी र गुनासा आएपछि तिनलाई सम्बोधनको प्रयास गरिनै रहेका छौँ । कतिपय अवस्थामा प्रहरी पठाएर निकासी गर्ने टिप्पर नियन्त्रणमा लिएर कारबाही गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, ‘अस्ति ११ गते नगरप्रमुख र उपप्रमुखलाई बोलाएर यस विषयमा गम्भीर छलफल भएको छ । उत्खननका लागि नगरपालिकाले दिएका अनुमति रद्द गर्ने निर्णय गरेका छौँ ।’

यसैबीच आज नगर उपप्रमुख रमेश बुढाथोकीले पत्रकार सम्मेलन गरी जग्गा सम्याउने नाममा नगरपालिकाका वडा नं १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध डोजर चलाउने काम भएकाले त्यसलाई रोक्नुपर्ने बताए । उनले भने, ‘कतिपय ठाउँमा थोरै जग्गाको स्वीकृति लिएर धेरै जग्गामा डोजर चलाउने, जग्गा सम्याउने नाममा माटो र बालुवाको अवैध निकासी गर्नेजस्ता समस्या देखिए’, उनले भने, ‘नगर क्षेत्रमा जताततै डोजर आतङ्क नै चलेको छ, यसले हामीमाथि पनि प्रश्न उठिरहेको छ ।’

उपप्रमुख बुढाथोकीले चार÷पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लिए पनि जग्गा व्यवसायीले आँखा छलेर २५ रोपनीसम्ममा डोजर चलाइरहेको पाइएको बताए । यसरी अवैधरूपमा डोजर चलाएका व्यवसायीबाट डोजरको साँचो नियन्त्रणमा लिने जरिवाना गराउने गरिएको बताए ।

‘सुडालको गुम्बामुनी नगरपालिकासँग स्वीकृति नै नलिई जग्गा प्लटिङ गर्नेक्रममा तीन वटा डोजरको साँचो नियन्त्रणमा लिएर ७५ लाख जरिवाना असुल गरेका छौँ । नगरकोटको टोलै र डाँडैपिच्छे डोजर चलिरहेका छन् । यस विषयमा वडाध्यक्षले समेत ध्यानाकर्षण गराएका छन् । हुँदाहुँदा वडा नं ४ कार्यालयको तलतिर डोजर चलाए । यो त अत्ति नै भयो’, उनले भने ।

कार्यपालिका बैठकमा बालुवा उत्खननका विषयमा छलफल भए पनि सहमति नजुटेपछि एक महिनाभित्र जग्गा सम्याएर खाल्डो पुर्न नगरपालिकाले स्वीकृतिको पत्र दिएको थियो । सोही पत्र देखाएर व्यवसायीले बालुवा झिक्न थालेपछि स्थानीयवासीले प्रहरी प्रशासन गुहारेका थिए । विवाद बढ्दै गएपछि नगरपालिकाले बालुवाखानी सञ्चालन गर्ने अनुमति रोक्यो, त्यस विरुद्ध व्यवसायीले आन्दोलनसमेत गरे ।

उपप्रमुख बुढाथोकी नगर क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरवासीको पनि भएकाले गलत कार्यविरुद्ध मिलेर अगाडि बढ्नुपर्ने बताउछन् । ‘व्यवसायीले अवैध बालुवा उत्खनन एवम् निकासीमा हामीलाई (नगरप्रमुख र उपप्रमुख) समेत मुछ्ने गरेका छन्, यो आफ्नो गल्तिबाट उम्कने दुष्प्रचारमात्रै हो । त्यसैले तपाईँहरू भ्रममा नपार्नु होला । अवैध उत्खननविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ’, उपप्रमुख बुढाथोकीले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *