राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नति हुँदै

बागलुङ । दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाँडा, व्यार्थलालगायत दर्जनौँ गाउँसम्म जोड्ने गरी १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ । नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नति गर्न थालेको हो । गाउँको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधन नियमित गुड्न सक्दैनथे । नगरपालिकाले स्तरोन्नति गर्न थालेपछि नियमित गाडी सञ्चालन हुनेमा स्थानीय विश्वस्त बनेका छन् । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले विनियोजन गरेको १० लाखबाट करिडोरसँग जोडिएको खण्ड स्तरोन्नति गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरिरहेको वडा नं ५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिए ।

यस वर्ष नगरपालिकाले १० लाख विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उनको भनाइ छ । करिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको सो सडक करिब १६ किमी रहेको हुँदा बर्सेनि नगरपालिकाले बजेट व्यवस्थापन गरी काम गर्दै आएको अध्यक्ष थापा बताउछन् ।

करिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, व्यार्थला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकैपटक काम गर्न नसकिएको उनको भनाइ छ । केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक/दुई वर्षमै काम गर्न सकिने थापाले बताए ।

उनले भने, ‘यो सडकको ट्र्याक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतिको काममा लागिरहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतिपछि सहज बन्नेछ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ, करिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नति गर्नसके, पर्यटक भित्र्याउन र सहज रूप हाँडीकोट पुर्‍याउन सकिने थियो ।’

जैमिनी–५ का स्थानीय फमबहादुर थापाले ट्र्याक खुलेको दशक वर्ष बढी हुँदा पनि सबै सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । सडक स्तरोन्नतिका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उनको भनाइ छ ।

यो सडकलाई स्तरोन्नति गर्नका लागि प्रदेश र केन्द्र सरकारबाटै बजेट आउनुपर्ने थापा बताउछन् । सडक अप्ठ्यारो हुँदा कृषिउपज वस्तु बजार पुर्‍याउँदा बढी भाडा तिर्नु परेको उनले सुनाए । केही ठाउँमा स्तरोन्नति हुँदा थोरै भए पनि यात्रमा सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *