सरकारको नीति तथा कार्यक्रम जनमोर्चाले बहिष्कार गरेको चित्रबहादुर केसीकाे प्रस्टीकरण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रम बहिष्कार गरेको स्पष्ट पारेको छ। विपक्षी दलहरूको विरोधबीच आइतबार संसदमा भएको छलफल आफूले बहिष्कार गरेको सांसद केसीले बताएका छन्।

अध्यक्ष केसीका स्वकीय सचिव कृष्ण अधिकारीले एक स्पष्टीकरण प्रकाशित गरी ‘कतिपय राष्ट्रियस्तरका समाचार माध्यमहरूमा माननीय चित्रबहादुर केसीले ‘आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम उपर संशोधन प्रस्ताव राखेको’ भनि समाचार प्रकाशित गरेको हुनाले त्यसबाट भ्रम सिर्जना हुन गएको’ बताएका छन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा राष्ट्रिय जनमोर्चा लगायतका प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन्। सरकारले प्रतिपक्षको मागलाई सम्बोधन गर्नुको सट्टा गृहमन्त्रीलाई जोगाउने गरी नै व्यवहार गर्दै आएको जनमोर्चाको आरोप छ।

‘संसदभित्र प्रतिपक्षहरूको माग सम्बोधन नहुँदासम्म सरकारले संसदमा प्रस्तुत गरेको कार्यसूची उपर कुनै छलफल हुन सक्दैन’ अधिकारीले भनेका छन्, ‘आज संसदमा सरकारले मार्शल लगाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गराउँदा सबै प्रतिपक्षीहरूले आआफ्नो स्थानमा उठेर वा वेल घेरेर विरोध जनाएको कुरा सार्वजनिक भइसकेको छ।’

सरकारले संसदमा छलफल गराउन खोजेको नीति र कार्यक्रममाथि भाग नलिने गरी केसीले आफ्नो स्थानबाट विरोध गरेको स्वकीय सचिव अधिकारीले स्पष्ट पारेका छन्।

‘आजको संसद बैठकमा माननीय चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विषयवस्तु भित्र प्रवेश नगरेको, दलको विरोध हुँदाहुँदै उहाँलाई नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव उपर बोल्न सभामुखले रुलिङ गरेकोमा संशोधन प्रस्ताव उपरको छलफलमा भाग लिने कुराको विरोध गर्दै सरकारको कार्यशैलीको कडा विरोध गर्नुका साथै आजको संसदको बैठकमा कुनै छलफलमा माननीय चित्रबहादुर केसी सहभागी नहुनु भएको तथा संशोधन प्रस्ताव समेत नराखेको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराउँदछु’ अधिकारीको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *