बुढानीलकण्ठमा प्रचण्ड र देउवाबीच वान टु वान वार्ता, के भयो सहमति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।
आईतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेको काँग्रेस सांसद जीवन परियारले बताए ।
उनले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी हुनुभएको बताए । भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ ।
‘आज बिहान प्रधानमन्त्रीको निवासमा शिर्ष नेताहरुको बैठक गर्ने तय भएको थियो’ उनले भने, ‘बैठकमा प्रधानमन्त्री मात्रै आउनुभयो । उहाँहरुको छुट्टै बैठक भयो, जसमा हामी थिएनौँ । ’
वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताए ।
उनले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिनुभएको बताए ।
‘प्रधानमन्त्रीज्युले सम्भव भएसम्म यसलाई अझै छलफल गरेर आज बेलुका वा भोलि बिहानसम्म बसेर टुंग्याउनेमा सरकारको भनाइ छ’ उनले भने, ‘यही अहिलेको गतिरोध अन्त्य गर्न केन्द्रित भयो होला भन्ने लाग्छ । अहिलेको स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीले जोड दिनुभएको छ ।’
उनले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताए ।
शिर्ष दलका नेताहरुको बैठक आईतवार साँझ वा सोमवार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने बताए ।
‘नेपाली काँग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ, उहाँहरुलाई हामीले यदी रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रश्ताव गर्नुहुन्छ सरकार पक्षले भनेर पर्खिरहेका हौँ’ उनले थपे, ‘उहाँहरु यसमा ठिक ठाउँमा हुनुहुन्न । सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’
उनले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रश्तुत नभएको आरोप समेत लगाए ।








