गृहमन्त्रीको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीवार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गरे ।

सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उहाँले आग्रह गरे । काँग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए काँग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे ।

उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसक्नुभएको बताए ।

उनले भने– ‘संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमा छन् भन्नुभयो, त्यो भन्न पाइँदैन । सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसदमा बोलन पाइन्छ भन्नेकुरामा सहमत हो ? यदी होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर ।’

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताए । उनले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताए ।

महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताए । नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताए । उनले राजनीतिमा कुनैपनि संकट नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *