नेताहरूले गरे त्याग, एकता र आपसी सद्भावका कुरा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएका छन् । किराँत समुदायको महान् पर्व उँभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका छन् ।

‘हाम्रा पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘उँभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको आह्वान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

यस अवसरमा आज जारी शुभकामना सन्देशमा उनले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताएकी छन् । साथै उनले बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान पनि गरेकी छन् । ‘गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ, ‘ शुभकामना सन्देशमा उनले भनेकी छन् ।

नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिएको शिक्षा र प्रतिपादन गरेको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसङ्घले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको उनले सन्देशमा स्मरण गरेकी छन् ।

विश्वका विभिन्न भू–भागमा मानव जातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनुपरेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी भन्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका उपदेशहरूको पालना एवं अनुशरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ हुने विचार सन्देशमा व्यक्त गरेकी छन् ।

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहेका नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिएका हुन् ।

उनले आजकै दिन स्वाँया पुन्हिः, उभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिएका छन् । भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उनको भनाइ छ । बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरूमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उनको भनाइ छ ।

बुद्धका उपदेशलाई मन, वचन र कर्मले पालना गरौँ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव नहुने बताएका छन् । आज २५६८औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नुपर्ने बताए ।

उनले विश्वमा फैलिएको अशान्ति, हत्या र हिंसाको सबैले विरोध गर्नुपर्ने उल्लेख गर्दै देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको उल्लेख गर्दै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *