संसदीय दलको बैठक

कांग्रेसमाथि ओलीको आरोप- ‘७० बिगाहा गिरीबन्धु टि-स्टेटको जग्गा कमिसन खाएर बेच्यो’

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।

सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन् । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिगाहा र ५१ बिगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गरे ।

उनले काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि काँग्रेसलाई दबाब दिए । काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो ।

उनले भने ‘म भन्न चाहन्छु–५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली काँग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौँ । हामीले सुनिरहनुपर्ने, काँग्रेस कराई रहनुपर्ने हुन्छ ? पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराइरहने ? यो चल्दैन ।

अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ । म धेरै भन्न चाहन्न । नेपाली काँग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरूको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहीँकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने ? काँग्रेसले नै फैसला पनि ठोकी हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ । त्यति भन्छु । ’

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि काँग्रेसलाई चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *