सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ : नेता रिजाल

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार काठमाडौँमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सार्वजनिक सेवा प्रशारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको भन्दै त्यसो नगर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराए ।

उनले आज सत्तामा छु भनेर सधैँ सत्तामा रही नरहने भन्दै सत्ता बाहिर हुँदा पनि र सत्तामा रहँदा पनि बराबर हुने गरी विधेयक बन्नुपर्नेमा जोड दिए । उनले जहाँ पनि हुनसक्छौँ भन्ने मान्यताबाट सार्वजनिक सेवा प्रशारण विधेयक बन्नुपर्ने बताए । उनले सार्वजनिक सेवा प्रशारणलाई सरकारी सेवा प्रशारण हुन नदिन आग्रह गरे ।

उनले भने, ‘सार्वजनिक सेवा प्रशारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको छ, त्यसो नगरिदिनुस् । आज पो तपाईँ सत्तामा हुनुहुन्छ, भोलि म त्यहाँ जाउँला । तपाईँ अर्कोतिर पर्नुहोला । त्यसैले हामी जहाँ पनि हुनसक्छौँ भन्ने मान्यताबाट सार्वजनिक सेवा प्रशारण सार्वजनिक सेवा प्रशारण नै होस्, सरकारी सेवा प्रशारण नहोस् ।’

नेता रिजालले निर्वाचनमा जित्ने र हार्नेबाट मात्रै प्रजातन्त्र हुन नसक्ने बताए । उनले सत्तामात्रै अनित्म सत्य हो भन्ने बाटोबाट हिँड्न नहुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *