धेरैलाई अनौठो लाग्ला

छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै उनले साग बेचेरै भएपनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरे । ‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो- पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो । निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ? मेरो जवाफ हुन्थ्यो- सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’, लिम्बुले भनेका शछन्, ‘आज पनि भन्छु- साग बेचेरै भएपनि जनताको सेवा गर्छु ।’

उनले अनैतिक आर्जनबाट जीवन धान्न बानी परेकाहरुलाई यो कुरा अनौठो लाग्नु स्वाभाविकै भएको बताए । ‘प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले (साग बेचेरै भए पनि जनताको सेवा गर्छु) भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन,’ उनले अगाडि भने, ‘जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ट्रोल बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन ।’

  • यस्तो छ उनको प्रतिक्रियाको पूर्णपाठ

साग पसल खोल्दै छु-
निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?

मेरो जवाफ हुन्थ्यो-
सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले ‘साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन ।

इलाम र कृषि उत्पादन
इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो । तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन । उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ । यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ ।

साग पसल खोल्दै छौँ
हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ यसका सम्भावित बजारबारे अध्ययन भएको छ। हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।

साग बेचेर के हुन्छ ?
हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

राजनीति पेसा होइन । राजनीतिलाई पेसा बनाउनु हुँदैन । म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु ।

भन्दै आएको थिए-

  • म अकबरे उम्मेदवार हुँ
  • म अलैँची उम्मेदवार हुँ
  • म अम्लिसो उम्मेदवार हुँ
  • म ओलन उम्मेदवार हुँ

अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ । र, आज पनि भन्छु- साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *