उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस उम्मेदवारले भने– पीडा र दुःख जति मेरै भागमा रहेछ

काठमाडौं । उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले पीडा र दुःखजति आफ्नै भागमा रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बझाङ प्रदेश सभा– १ मा निर्वाचित एमालेका दमनबहादुर भण्डारीलाई बधाई दिँदै समर्थकहरुलाई उत्तेजित भएर कसैप्रति गाली गलौजमा नलाग्न आग्रह गरेका हुन् ।

त्यस्तै निर्वाचित गर्ने बझाङका जनताको सेवामा इमान्दारितापूर्वक लाग्न भण्डारीलाई आग्रह समेत गरेका छन् ।

‘भगवान पनि कति निष्ठुरी सधैँ पीडा र दुःख जति मेरै जिन्दगीमा रहेछ । कसैप्रति केही गुनासो छैन र केही भन्नु छैन । विनम्र अनुरोध गर्दछु मलाई समर्थन गर्नेहरुले कसैप्रति उत्तेजित एवं आक्रोशित भएर अभद्र व्यवहार वा सामाजिक संजालमा कसैको आलोचना नरिदिनु होला । हार्दिक बधाई एवं कार्यकालको शुभकामना दिन चाहन्छु आदरणीय नेता दमन भन्डारीज्यु । बझाङका जनता तपाईंलाई आफ्नो अमुल्य मत दिएर जिताएका छन्, तपाईं कटिबद्ध भएर इमानदारीपूर्वक कुनै पार्टी या व्यक्ति नभनेर सबैलाई मिलाएर जानु हुने छ भन्ने मैले आशा राखेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफ्नै केही कमीकमजोरी रहेका कारण निर्वाचनमा पराजित भएको र आगामी दिनमा त्यसलाई सुधार गरेर अघि बढ्ने समेत बताएका छन् । साथै आफू पराजित भए पनि जनताको साथमा सधैँ रहने भन्दै मत हाल्ने मतदाता र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन् ।

‘मेरै केही कमि कमजोरी थियो होला सायद तपाईंहरुको मनलाई जित्न सकिन आगामी दिन देखि हजुरहरुको मन जित्ने प्रयास गर्ने छु । अन्तमा जस्तोसुकै परिस्थितिमा पनि तपाईंहरुको साथमा सदैव हुनेछु र सम्पूर्ण मतदाता एवं शुभचिन्तकहरु प्रति हार्दिक धन्यवाद एवं नमन व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २६६ मतको अन्तरले विजयी भएका छन् ।

सोमबार दिउँसो आएको अन्तिम परिणाम अनुसार भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *