कर्णाली लिट्रेचर फेस्टिभल

कर्णाली साँच्चिकै दुर्गम रहेछ : माइकल हर्ट

सुर्खेत । नेपाली भाषामा विद्यावारिधी गरेका माइकल हर्ट यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका छन् । त्यसभित्र पनि उनले दलित साहित्यलाई महत्वका साथ आफ्नो अध्ययनभित्र राखेका छन् । उनले दलितका अनुभव, प्रतिरोध, उत्पीडन जस्ता विषयलाई पनि आफ्नो अध्ययनमा समावेश गर्न खोजेका छन् ।

अध्ययनका क्रममा आफूले दलितहरूको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण लागेको माइकलले बताए ।
‘म अहिले दलित समुदायबाट आएका मान्छेहरूले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी दलित समुदायबाट आएका लेखकहरूले लेखेका पुस्तकहरूको विषयमा बुझ्दै छु,’ सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता रहेका माइकलले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरू स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक दृष्टिकोणबाट हेर्दा निकै महत्वपूर्ण छन्,’

उनले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना बनाएका छन् ।

उनले आफू अध्ययनका क्रममा कर्णाली आउँदा निकै दुर्गम भएको अनुभव गरेको बताए । ‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ,’ उनले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौं वरिपरि बसेर काम गरेको मैले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ ।’

उनले नेपालको साहित्य राजधानीको वरिपरि मात्र सीमित रहेको आफूले पाएको बताए । यसलाई सबैतिर विस्तार गर्नुपर्नेमा माइकलले जोड दिए ।

उनले नेपालमा अध्ययनका क्रममा पाँच सय भन्दा धेरै पुस्तक आफूले पढिसकेको बताए । माइकलले कर्णाली ब्लुजको अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन् । मुनामदन पनि उनले अनुवाद गरेका छन् ।

‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिएन, पछि मात्र टेक्न पाएँ,’ उनले भने ।

माइकलले तत्कालीन माओवादी छापामारहरूले लेखेको पुस्तकहरूको संस्मरण पनि बनाएका छन् । त्यसक्रममा माओवादी विद्रोहमा हुँदा उनीहरुले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको माइकलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *