बाबुराम राष्ट्रपति बन्न नपाउँदा लोभि र पापी बने : महिन्द्र राय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

शनिवार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताए ।

उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरेका हुन् । आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए ।

अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनले बताए । अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिन भित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरे ।

उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । उनले बाबुराम भट्टराई अधिक लोभि, पापी बनेको पनि बताए । उनले भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको बताए ।

उनले भने– ‘डा. बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । उहाँलाई मैले चुनाव लड्नुस् भनेको थिएँ । उहाँले म लड्दिन भन्नुभयो । म आफ्नो छोरीलाई काठमाडौंमा चुनाव लडाउँछु भन्नुभयो । उहाँले यहाँ उनको नानीको घर हो, नेवार समुदाय हो । सबैले भोट दिन्छ भन्नुभयो । मैले ठिक छ भने । तपाईको छोरी जित्यो भने राम्रो हो । डा. सापले प्रचण्डलाई लिएर जानुभयो । उहाँले प्रचण्डजीलाई हसिँया हथौडामा भोट दिनुस् । हाम्रो एकता गर्ने सहमती भइसकेको छ । चुनावपछि पार्टी एकता गर्छौ भनेर बाबुरामले गोरखामा भन्नुभएको हो । आज उहाँले गोरखाका जनतालाई जवाफ दिनुपर्ने हुन्छ । हामीलाई आरोप लगाउनुहुन्छ, सांसद, मन्त्री खानका लागि । त्यो वास्तवमा होइन । म भन्न चाहन्छु, डा. साप नेपाली जनताको बीचमा खडा हुनुपर्दछ अब । उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो । यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ । डा. सापले मलाई भन्नुभयो, राष्ट्रपति भएन हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ । मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साप विचलित हुनुभयो । अनि मलाई भन्नुभयो, फलानो नेताकोमा जाऔँ । म सबै नेताकोमा गएँ । लास्टमा मैले भने छोडिदिनुस् यो अभियान । मैले भने पार्टी दर्ता नगर्नुस् तपाई, यो राष्ट्रिय सभाको चुनावमा हाम्रो पार्टीको भोट भनेको ४५ हो । नगर्नुस् । दर्ता गराईदिनु भयो । प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस् । यो राजनीतिक पार्टी उहाँको पारिवारिक जस्तो भयो । आफू, श्रीमति, बुहारी, छोरी सबैको लागि राजनीति गर्न सकिन्छ ? अनि प्रचण्डजीले मलाई सोध्नुभयो, कसरी तपाई दिनुहुन्छ ? पार्टी एकता गराउनुस्, बाबुरामले जे–जे भन्छ सबै दिनुस् । पार्टी एकता बिना केही नदिनुस् मैले भनेको प्रचण्डजीलाई । यथार्थ कुरा यही हो । सच्चाइ यही हो । लुकाउनुपर्ने कुरा होइन । अनि हामीलाई चाहीँ मुद्दा लगाउने, हामीलाई चाहीँ लोभी, पापि बनाउने ? यो देशमा हामीभन्दा बढी लोभि, पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उनिसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताए ।

उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए । अध्यक्ष यादवले बाबुराम वामपन्थी विचारबाट भाग्दाखेरी केशरजंग रायमाझी जस्तै हुन पुगेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *