हामीलाई कसैले अपमान गर्‍यो भने उथलपुथल हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे अर्को उथलपुथल हुने उनको भनाई छ ।

आफू देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टिमा शुक्रबार अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।

वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इसारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद छन र ति चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरू जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *