स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले स्वास्थ्य, शिक्षा र स्वास्थ्य उपकरण उत्पादनको क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले यो क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सके राजश्व वृद्धि, मुलुकभित्रै रोजगारी सिर्जना हुनेमा जोड दिए । उनले स्वास्थ्य, शिक्षा र मेडिकल क्षेत्रमा निजी क्षेत्रको लगानी वृद्धि गर्न नहुने जिम्मेवार व्यक्तिहरूले भन्नु गलत भएको बताए ।

राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउन जरुरी रहेको बताए । अध्यक्ष ढकालले आगामी बजेटमा निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्बोधन गर्न जरुरी रहेको बताए । उनले सरकारले निजी क्षेत्रले दिने सुझाव निजी क्षेत्रको स्वार्थको लागि मात्रै दिने गरेको भन्ने परम्परागत सोचमा परिवर्तन जरुरी रहेको बताए ।

उनले भने ‘स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न हुँदैन भन्ने विषय आएको छ । केही जिम्मेवार व्यक्तिहरूले नै मेडिकल र शिक्षामा फाइदा गर्ने होइन हुन सक्दैन भन्नुभयो । त्यस्तो हुँदा फाइदा नहुने क्षेत्रमा निजी क्षेत्रको लगानी कसरी आउँछ ? सबैभन्दा पहिला राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ । त्यसपछि मात्रै राजश्व बढ्छ । त्यो लगानीबाट राजश्व संकलन गरी राज्यले पूर्वाधार बनाउन सक्ने भयो भने सरकारले बनाउने पूर्वाधारमा प्राथमिकता दिऔँ । तर अहिले जुन हिसाबको मेकानिजम बनेको छ । त्यसले काम गर्न सहज छैन । निजी क्षेत्रले दिएका सुझावहरूलाई निजी क्षेत्रको स्वार्थको लागि होइन भन्ने सोच परिवर्तन गर्न जरुरी छ । त्यो परिवर्तन भएको जस्तो आभास भएको छ । स्वास्थ्य उपकरण उत्पादनदेखि स्वास्थ्य शिक्षाको क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने र लगानी सुरक्षित हुने वातावरण बनाउन सकियो भने राज्यलाई राजश्व बढाउने, रोजगारी सिर्जना गर्ने मद्दत पुग्छ ।’

उनले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सरकारले लगानी वृद्धि गर्ने वातावरण बनाए मात्रै राजश्व वृद्धि र रोजगारी सिर्जना गर्ने मद्दत पुग्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *