इजरायलद्वारा इरानमा क्षेप्यास्त्र प्रहार, सामरिक महत्त्व भएको प्रान्तमा विस्फोटन

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बताएका हुन् ।

तर इरानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा अमेरिका रक्षा मन्त्रालय र इजरेली सेनाले टिप्पणी गर्न अस्वीकार गरेका छन् । यद्यपि इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन् । इरानको प्रतिरक्षा प्रणालीले तीनवटा ड्रोन नष्ट पारिदिएको बताइएको छ । इस्फहान सामरिक महत्त्व भएको प्रान्त हो ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार कैयौँ सहरमा उडान रद्द गरिएको छ । तर केही घण्टापछि तेहरानस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थल फेरि खुलेको सरकारी समाचारसंस्था ‘आईआरएनए’ले जनाएको छ । गत शनिवार राति इरानले इजरेललाई लक्ष्य बनाउँदै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो ।

इजरेलले उक्त आक्रमणको जबाफ दिने बताएको थियो । त्यस बेलादेखि नै इरानमा उच्च सतर्कता छ । इरानमा आक्रमण गर्नुअघि सिरियास्थित इरानी कूटनीतिक नियोगमा भएको घातक आक्रमणमा केही इरानी सैन्य अधिकारीहरूको मृत्यु भएको थियो । इरानले उक्त आक्रमण इजरेलले गराएको आरोप लगाउँदै प्रतिशोध लिने बताउँदै आएको थियो । दुवै पक्षलाई संयुक्त राष्ट्रसङ्घ र विश्वका अरू देशका नेताहरूले संयमित हुन आग्रह गर्दै आएका छन् ।

इस्फहान किन महत्त्वपूर्ण
इरानी हवाई प्रतिरक्षा प्रणालीले बाहिरबाट प्रहार गरिएका ड्रोनलाई नष्ट पार्दा देशका विभिन्न स्थानमा विस्फोटन भएको सुनिएको इरानी सरकारी प्रसारकले जनाएको छ । इजरेली क्षेप्यास्त्र प्रहार भएको भनिएको इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ ।

त्यहाँ कैयौँ परमाणुकेन्द्रहरू छन् । त्यहाँ एउटा मुख्य सैन्य आधार र सामरिक महत्त्वका स्थलहरू छन् । तर अहिलेसम्म कतै क्षेप्यास्त्र लागेको जानकारी प्राप्त भएको छैन । सरकारी प्रसारक आईआरआईबीले विश्वस्त स्रोतलाई उल्लेख गर्दै त्यहाँ रहेका परमाणुकेन्द्रहरू पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।

दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएका छन् । इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोटन भएको विवरण प्राप्त भएको छ । इरानको पारमाणविक कार्यक्रमका लागि इस्फहान धेरै हदसम्म केन्द्र हो- तालिम, अनुसन्धान र कसैकसैले भनेअनुसार पारमाणविक सामर्थ्यको विकासका लागि ।

सुन र तेलको भाउ बढ्यो
अमेरिकी अधिकारीहरूले इरानमा इजरेली क्षेप्यास्त्र प्रहार भएको बताएपछि विश्व बजारमा खनिज तेल र सुनको मूल्य बढेको छ । शुक्रवार बिहान एशियामा ‘ब्रेन्ट’ कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारल ९० अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य प्रतिआउन्स (झन्डै २८.३५ ग्राम) को २,४०० डलर पुगेको छ ।

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक भएको हो । इरान खनिज तेलको सातौँ ठूलो उत्पादक हो । जापान, हङ्‌कङ र दक्षिण कोरियामा स्टक बजार ओरालो लागेको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *