व्यक्ति नभई मुलुक र जनता जोगाउन काम गर्दैछु : गृहमन्त्री लामिछाने

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् । उनीहरुले कुनैपनि राजनीतिक दलहरूको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे ।

भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताइन् । उनले यसअघि पनि विभिन्न राजनीतिक दलहरूको संरक्षणमा पटक पटक छोडिएको भन्दै उनले अपराधीलाई कारबाही गर्न माग गरिन् । उनले श्रीमान नपाए पनि अब न्याय पाउने आस लागेको बताइन् । उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौती बढेको बताइन् ।

उनले भनिन् ‘अपराधी राजनीतिक संरक्षणमा नछुटोस् । पहिला पनि राजनीतिक संरक्षणका कारण पटक पटक छुटेको रेकर्ड छ । उसलाई कारबाही होस् । मैले श्रीमान नपाए पनि न्याय पाउँ । मलाई न्याय पाउँछु की भन्ने आस लागेको छ । मन हलुका भएको छ ।’

पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभई सत्यको आधारमा कारबाही गर्ने बताए । उनले काम गर्न जटिलता भएपनि अपराधीलाई उन्मुक्ति नदिने बताए । उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखीकन काम गरिरहेको बताए ।

उनले भने ‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसाबले होइन, हामीले न्याय के हो रु सत्य के हो ? त्यसमा काम गर्ने हो । केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमानदारीपूर्वक काम गरिरहेका छौँ । हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं । कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानुनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’

गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभई आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *