सञ्चारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ : मन्त्री शर्मा

दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ दाङले आजदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उनीले सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिइन् ।

नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने मन्त्री शर्माले बताइन् । सञ्चारमाध्याममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्नेमा उनीले जोड दिइन् ।

‘समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन् । उनीहरूका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतातर्फ जाने सम्भावना बढी हुन्छ’, मन्त्री शर्माले भनिन्, ‘यसले प्रशासन, पत्रकारितालगायत जुनसुकै क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ । त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ ।’

सञ्चारमाध्यामले विदेश जान लाइन लागेका व्यक्तिलाई समावेश गरिरहँदा विदेशबाट स्वदेश फर्किएर स्वरोजगार बनिरहेका, कृषि, व्यापार व्यवसाय तथा अन्य पेसाका माध्यमबाट समाजमा उदाहरणीय बनेका व्यक्तिका विषय समावेश नगर्दा युवापुस्तामा विदेश जान प्रेरणा मिल्ने गरेको मन्त्री शर्माको भनाइ छ ।

पत्रकार महासङ्घले मुलुकमा गणतन्त्र स्थापनाका लागि सुरुमा आवाज उठाएको भन्दै यसबाट प्राप्त उपलब्धि जोगाउन महासङ्को भूमिका महत्त्वपूर्ण हुने उनीले बताइन् ।

‘सञ्चारमाध्यम तथा महासङ्घले गणतन्त्र स्थापनामा अहोरात्र कलम चलाउँदा आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा परिचित भएका हौँ’, मन्त्री शर्माले भनिन्, ‘सञ्चारमाध्यमले हाम्रो सङ्घर्ष र उपलब्धिका बारेमा नयाँ पुस्तालाई बुझाउन आवश्यक छ ।’

गणतन्त्र स्थापनाका साथै मुलुकमा अल्पसङ्ख्यक, दलित, महिला, जनजाति, पिछडिएको वर्ग सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेको भन्दै यसलाई जोगाउन सञ्चारमाध्यामले भूमिका निर्वाह गर्नुपर्नेमा उनीले जोड दिइन् । ‘अहिले गलत गर्नेहरू दण्डित भइरहेका छन्’, उनीले भनिन्, ‘यो गणतन्त्रकै उपलब्धि हो ।’

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहे पनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसमा सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ । पत्रकारिता क्षेत्रलाई पुनःसंरचना गर्नु आजको आवश्यकता रहेको भन्दै उनीले यसका लागि कानुन निर्माण अघि बढिरहेको जानकारी दिइन् ।

अहिलेसम्म सञ्चारमाध्यम परम्परागत कानुनहरूबाट सञ्चालन भइरहेका भन्दै मन्त्री शर्माले यसलाई पुनःसंरचना गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताइन् । प्रेस काउन्सिललाई ‘मिडिया काउन्सिल’ बनाएर सबै किसिमका सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने तयारी भइरहेको उनीले जानकारी दिइन् ।

‘आमसञ्चार प्राधिकरणको कानुन पनि अन्तिम चरणमा छ । त्यो गठन भएपछि सञ्चारमाध्यम तथा पत्रकारको क्षमता विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै सरकारी सञ्चारमाध्यमको पनि पुनःसंरचना हुन आवश्यक छ’, सूचना तथा सञ्चार प्रविधिमन्त्री शर्माले भनिन् । नेपाल टेलिभिजन, रेडियो नेपाललाई एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने उनीको भनाइ छ ।

सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको भन्दै साइबर सुरक्षा, दूरसञ्चार ऐन संशोधनका लागि अन्तिम तयारीमा रहेको मन्त्री शर्माले जानकारी दिइन् ।

आजदेखि सुरु भएको महोत्सव भोलिसम्म सञ्चालन हुनेछ । पत्रकार महासङ्घ दाङ शाखाको १२ औँ अधिवेशन तथा २२ औँ साधारणसभाका अवसरमा मिडिया महोत्सवको आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *