लगानी सम्मेलन सम्बन्धि अवधारणामा बाबुराम भट्टराईको असन्तुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाई थियो । सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ ।

आईतवार काठमाडौंमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरुले राजदुतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे ।

उनले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे ।

स्वदेशी श्रमको परिचालन गरेर अघि बढ्नसके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । उनले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहोर्‍याए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने– ‘हामीले वर्षौदेखि यो वैदेशिक लगानीको कुरा गरिराखेका छौं । तर खासै प्रगति चाहीँ भइराखेको छैन । दुई दुई पटक लगानी सम्मेलनहरु भए । र अहिले पनि भईराखेको छ । र त्यो उहीँ ढाँचामा भईराखेको म देख्छु । राजदुतहरुलाई बोलाएर हाम्रा मन्त्रीहरुले तपाईका देशका लगानी कर्ता, व्यवसायी, पुँजिपतिहरुलाई पठाईदिनुप¥यो भनेर हारगुहार गर्नुभएको छ । मलाई चाहीँ के लाग्छ भने नेपालमा लगानी नै आएको छैन । त्यसैले किन आएन भन्न स्वभाविक नै हो । मेरो राजनीतिक अर्थशास्त्रमा थोरै रुचि राख्ने भएकाले नेपालमा किन लगानी आईराखेको छैन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि । सबैले भन्दा पनि किन आईराखेको छैन, कहाँ चुकेका छौ हामी ? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउने नीतिले पनि नेपालमा वाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *