तेस्रो अधिवेशनमा कम विधेयक बनेको भन्दै असन्तुष्ट सांसदहरू, एकअर्कालाई दोष

काठमाडौँ । सांसदहरूले महत्वपूर्ण विधेयकहरू पारित नगरी संसदको तेस्रो अधिवेशन अन्त्य भएको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले संसदको तेस्रो अधिवेशन पनि महत्वपूर्ण विधेयकहरू पारित नगरी अन्त्य हुनुपरेको बताएका हुन् । यद्यपि विधेयक पारित हुन नसक्नुमा राजनीतिक दलहरू नै जिम्मेवार रहेको सांसदहरूको भनाई छ ।

विधेयक पारित हुन नसक्नुमा सत्तापक्षले प्रतिपक्ष र प्रतिपक्षले सत्तापक्षलाई दोष देखाएका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सानाभन्दा साना विषयमा पनि संसद अवरोध गरेका कारण धेरै विधेयकहरू पारित हुन नसकेका बताए । उनले सरकारबाट हट्नासाथ विरोध गर्ने काँग्रेसको अलोकतान्त्रिक शैलीका कारण संसदले राम्रो काम गर्न नसकेको बताए ।

उनले भने ‘सानाभन्दा साना विषयमा पनि संसदमा गतिरोध सिर्जना गर्ने, अवरोध सिर्जना गर्ने जुन मनसाय संसदमा देखियो । विशेषगरी प्रमुख प्रतिपक्ष र प्रतिपक्षका साथीहरूले संसदको महत्वपूर्ण कार्यभारलाई अगाडी बढ्नका लागि नै अवरोध सिर्जना गर्नका लागि जसरी प्रस्तुति देखाइरहनुभएको छ । व्यवहारहरू प्रदर्शन गरिराख्नुभएको छ । यो नै संसदको कानुन निर्माणको चुनौतीको विषय बन्यो । सरकारमा रहँदा वा नरहँदाको व्यवहारमा संसदले खेल्नुपर्ने मुख्य काम र भूमिकामा अवरोध सिर्जना नगरौँ भन्ने प्रतिबद्धता जरुरी देखियो । सरकारबाट हट्ने बित्तिकै विरोधको प्रक्रिया आरम्भ गर्नेकुरा लोकतान्त्रिक शैली भएन । अलोकतान्त्रिक चरित्र र शैलीका कारणले गर्दापनि संसदले आफ्नो काम ठिक ढंगबाट गर्न सकेन । काँग्रेसको बालहठको निरन्तरताले संसद महत्वपूर्ण काम टुंग्याएर स्थगित हुनुपर्ने । केही पनि गर्न नसकी रोकियो ।’

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकार संसदबाट भाग्नका लागि अधिवेशन अन्त्य गरिएको बताए । उनले सरकारले लगानी सम्मेलनका लागि अध्यादेशबाट नियम ल्याउन लागेको भन्दै सो कुरा आफूहरूलाई मान्य नहुने बताए । उनले सांसदलाई बाइपास गरेर ल्याइने निर्णय आफूहरूलाई मान्य नहुने स्पष्ट पारे ।

उनले भने ‘सरकार भाग्न खोज्यो सदनबाट । जहिलेपनि कम्युनिस्ट पार्टीहरू सरकारमा हुँदाखेरि सदनलाई छलेर सरकार बाहिर भाग्ने परिपाटीको विकास भएको छ । यो संसद नै सरकारको मुहान हो भन्ने कुरालाई बिर्सियो । संसद नभईकन सरकार निर्माण हुँदैन । सांसदलाई बाइपास गरेका निर्णय हामीलाई अमान्य हुनेछन् । एकातिर लगानी सम्मेलन गर्छु भन्ने, लगानी सम्मेलनमा अध्यादेशबाट नियम ल्याउने यो घोर आपत्तिजनक कुरा छ । हामी यसको छिनोफानो सदनमै बसेर फेरि गर्छौं ।’

नेकपा (माओवादी केन्द्र)  का सांसद देवेन्द्र पौडेलले बजेट अधिवेशनको तयारीका लागि संसदको चालु अधिवेशन अन्त्य गरिएको बताए । उनले विधेयकहरू पारित गर्ने कुरामा संसदका दलहरूका बीचमा सहमति जुट्नुपर्नेमा त्यस्तो हुन नसकेका कारण संसदले धेरै विधेयक पारित गर्न नसकेको बताए । सांसदलाई सुचारु गर्ने कुरामा प्रमुख प्रतिपक्ष दलको भुमिका कम भएको पनि उनको भनाई छ ।

उनले भने ‘भागेको होइन । स्वाभाविक रुपमा यो अधिवेशन अन्त्य गरेर बजेट अधिवेशनको सुरुवात गर्नुपर्ने हुन्छ । प्रक्रिया र विधिको हिसाबले पनि । भागेको भन्दापनि प्रक्रिया र विधि प्रयोग गर्नका निम्ति स्थगित भएको हो । छिट्टै संसद खुल्छ । सरकारले विधेयक ल्याउने हो । दलहरूका बिचमा सहमति हुनुपर्छ । दलहरूका बिचमा सहमति भएको भएदेखि छिट्टै कामहरु अगाडी बढ्थे होला । प्रतिपक्षले पनि संसद रोक्नेतिर जानुभयो । बोलेर, विषय प्रस्तुत गरेर, आफ्ना मुद्दाहरू राखेर सांसदलाई सुचारु गराउनेतिर गएको भए हुन्थ्यो । कुनैपनि हालतमा संसद चल्न नदिनेतिर उहाँहरू जानुभयो । त्यो सही तरिका होइन । लोकतान्त्रिक संस्कार, परम्परा अनुसार सरकारले बिजनेस दिने हो । बिजनेसमा छलफल चलाएर टुंगो लगाउने काम सदनको हो । त्यसमा प्रतिपक्षको पनि भुमिका हुनुपर्थ्यो । प्रतिपक्षको भुमिका कम भयो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुराना राजनीतिक दलहरूको असंसदीय गतिविधिका कारण संसद बन्दी भएको बताए । उनले गृहमन्त्री रवि लामिछानेलाई संसदमा अस्वीकृत गरेर सांसदलाई गतिहीन बनाइएको बताए । उनले आगामी बजेट अधिवेशनमा पनि विधेयकको काम हुने बताए ।

उनले भने ‘विधेयकमा कामहरु भएका छन् । यो अधिवेशन मूलतः विधेयक अधिवेशन भएको भएर यहीँबाट धेरै कुराहरू भएको भए हुन्थ्यो भन्ने यहाँको सरोकार असाध्यै राम्रो छ । तर बजेट अधिवेशनमा पनि यसका काम हुन सक्छन् । संसदको गतिरोध लामो समयसम्म राजनीति गरेका र आफूलाई राजनीतिमा अभ्यस्त भनिएका पार्टीहरूको असंसदीय गतिविधि र सांसदलाई बन्दी बनाउने काम र व्यक्तिलाई दोष लगाएर, व्यक्तिलाई अस्वीकृत गरेर सांसदलाई नै गतिहीन बनाउने कारण हो । त्यो कारणले आज यो अधिवेशन टुंगिएको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदको चालु अधिवेशन सकिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।

उनले भने ‘हिउँदे अधिवेशन सकियो । यो नियमित कुरा हो । पहिलेदेखि भइआएको कुरा हो । यसमा कुनै नौलो विषयवस्तु छैन । सरकारले जुन कुरा माग पुरा गर्नुपर्थ्यो त्यो गर्दै गर्दैन । यस्तो सरकार छ कि बहुमत हुँदाहुँदै पनि आफैँ विश्वासको मत लिँदै हिँड्छ ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मर बहादुर थापाले विधेयक बनाउनका लागि संसदको ध्यान गम्भीरतापूर्वक जान नसकेको बताए । उनले कानुन बनाउने मूल दायित्व बिर्सेर संसदमा अन्य विषयमा मात्रै लडिराखिएको बताए । उनले कानुन निर्माणको सन्दर्भमा दलहरूको कमी, कमजोरी भएको बताए ।

उनले भने ‘विधेयकको विषयमा गम्भीरतापूर्वक जानुपर्थ्यो सदन, जाँदैन । अन्य लफडामा मात्रै लागिराख्ने । हाम्रो दायित्व कानुन बनाउने हो । विधेयकहरूलाई पास गरेर छिटोभन्दा छिटो कानुनमा रूपान्तरण गर्ने काम हाम्रो हो । यसमा कमी, कमजोरी भएका छन् । समितिको बैठक पनि कोरम नपुग्ने स्थिति छ । माननीयहरू जिल्ला जाने क्रम पनि छ ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग कुनै भिजन नभएका कारण संसदबाट विधेयकहरू पारित हुन नसकेका बताए । उनले दलका नेताहरूलाई बोल्न नदिईकन संसदको अधिवेशन अन्त्य गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने ‘न सत्तापक्षसँग भिजन छ । न प्रमुख विपक्षीसँग भिजन छ । आज संसद टुङ्ग्याइयो, प्रमुख विपक्षीलाई बोल्नै नदिईकन । सबै दलहरुलाई बोल्न दिनुपर्छ नि । समीक्षा हुनुप¥यो । बोल्नै दिइएन । संसदमा सत्तापक्ष र प्रमुख विपक्ष काबिल नहुुँदाखेरी देश र जनतालाई दुःख भएको हो ।’

उनले संसदमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष काबिल नहुँदा देश र जनतालाई दुःख भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *