सरकार संसदमा उठेका विषयबाट भाग्न खोज्यो भन्ने कुरा गलत हो : रेखा शर्मा

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ ।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएका हुन् । उनले स्वाभाविक रुपमा भएको संसद अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताए ।

उनले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली काँग्रेसको आरोप गलत भएको बताए । उनले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको बताए ।

उनले भने ‘संसदको एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ । हाम्रा नियमावली, संविधानका व्यवस्था छन् । त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद अधिवेशन बन्द गर्नैपर्ने हुन्छ । अब हाम्रो बजेट अधिवेशन नजिक आउँदै छ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्युहरुका सल्लाह र सुझाव छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमको, बजेटको तयारी गर्नुपर्ने, सरकारको मुख्य ध्यान त्यतातिर छ । त्यसकारण हामी अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिइएको हो । त्यसबाट संसद अन्त्य स्वाभाविक प्रक्रियामा भएको छ । यसलाई अरु अर्थमा बुझ्नु हुँदैन । संसदमा उठेका विषयबाट भाग्न खोज्यो र अन्त्य भयो भन्ने कुरा आयो । यो गलत हो ।’

मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *