कानुन निर्माणमा संसदको हिउँदे अधिवेशन प्रभावकारी भएन : सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानुन निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् ।

सभामुख घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानुन निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन् । उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास समेत व्यक्त गरे ।

संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने विरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पारे । उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउने पनि स्मरण गराए ।

संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउनसके संघीय संसदको गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो । उनले संसद क्रियाशील र प्रबुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए ।

सभामुख घिमिरेले भने ‘कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रुपमा अघिल्ला अधिवेशनहरूभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको मैले महसुस गरेको छु । तर पर्याप्त भने हुन सकेन । राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखी हुने मैले विश्वास लिएको छु । संसद जनताको भावनालाई जनताद्धारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन् । नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वाभाविक रुपमा देखिन्छ । संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउँछ । संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउनसके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन्छ भन्ने मैले ठानेको छु । संसद जति क्रियाशील र प्रबुद्ध भयो, त्यसले त्यत्तिनै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै नयाँ वर्ष २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

त्यस अवसरमा सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भुमिका खेल्नुहुने सबै सांसद, संसद सचिवालयका अधिकारीलगायत संवद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *