इजरेलमा इरानले गर्‍यो दर्जनौँ ड्रोन र क्षेप्यास्त्र हमला

काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।

मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् । इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली अपराधको जबाफ बताएको छ । जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न वार क्याबिनेटको बैठक बोलाएका छन् । उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् । यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो ।

इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ । इरानको रिभोल्युशनरी गार्डस्‌ले आफ्ना हमलाहरू “निश्चित निशानाहरूमा” लक्षित गरिएको जनाएको छ ।

क्षतिको अवस्था के छ ?
इजरेलले हमलाहरू अझै नरोकिएको जनाएको छ । इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ ।

एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ । एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो एरो हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ ।

आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन् । इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ ?
अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका छन् । ह्वाइटहाउसको ‘सिचुएसन रुम’मा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका प्रोक्सीहरूबाट हुने जोखिमसँग जुझ्नका लागि इजरेलप्रतिको वासिङ्टनको प्रतिबद्धता फलामे कवच जस्तो रहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए । इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ । कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन् । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *