महाकुम्भ मेलामा शाहीस्नान गरियो

धरान (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ ।

आज नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो । जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । एक महिनासम्म लाग्ने कुम्भमेलामा जम्मा चारवटा स्नान कार्यक्रम राखिएका छन् । यही वैशाख ११, १६ र २६ गते शाहीस्नानका कार्यक्रम राखिएको छ ।

हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगदगुरु देवाचार्यले बताउनुभयो । धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ ।

शुभ मुहुर्तमा शाहीस्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको देवाचार्यले बताए । वराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ देखि सुरु भएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

कुम्भमेलाकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि सङ्कटमोचन श्रीहनुमद महायज्ञ सुरु गरेको छ । महायज्ञमा वैशाख ५ गते पीठको निमन्त्रणमा भारतको बागेश्वरधामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *