सशस्त्रको केन्द्रीय स्टोरमा भएको आगलागी छानबिन गर्न गृहले पनि बनायो छुट्टै समिति

सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार गरेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो।

यस घटनाको छानबिन गर्नका लागि गृहले समितिलाई १० दिनको समय दिएको छ।

यसबीच आगलागीबाट क्षति भएको विवरण, आगलागीको कारण, भण्डारमा आगलागी तथा अन्‍य विपदजन्य जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा घटना दोहोरिन नदिन गर्नुपर्ने सुधार लगायतका विषयमा केन्द्रित हुन कार्यादेश दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =