राष्ट्रपतिद्वारा महाकुम्भ मेलाको उद्घाटन

काठमाडौँ । सुनसरीको चतरामा आजबाट बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ ।

पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभई धार्मिक पर्यटन बिस्तारमा समेत टेवा पुग्ने बताए । उनले मेलाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए । उनले मेलाले धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने बताए ।

राष्ट्रपति पौडेलले भने ,‘आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन, विभिन्न जातजाति र धर्म,लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने राष्ट्रियता,राष्ट्रिय एकता, स्वतन्त्रता,सार्वभौमिकताको संरक्षण, संवर्द्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव हो । गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रथम जगद्गुरु अनन्त विभूषित बालसन्त मोहनशरण देवाचार्यले नागरिक अभिनन्दन गरेका थिए । पूर्ण महाकुम्भको समुद्घाटन पूर्वजगद्गुरु बालसन्त मोहनशरण देवाचार्यसहित हिन्दु धर्मका गुरु तथा अगुवा सहितको उपस्थितिमा पहिलो महास्नान गरिएको छ । सुनसरीको चतरामा आजबाट सुरु पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ ।

महिना दिनसम्म चल्ने महाकुम्भमा शङ्कराचार्य, वैष्णवाचार्य, जगद्गुरु, साधुसन्त, महन्त र धर्माचार्य एवं विद्वानहरूबाट धार्मिक प्रवचनका साथै अनुष्ठान, हवन लगायतका विधिविधान सहितका धार्मिक कार्यक्रम आयोजना हुने आयोजक बाह्र वर्षे पिण्डेश्वर पूर्व महाकुम्भ मेला मूल आयोजक समिति चतरा सुनसरीले जनाएको छ । कुम्भ मेलामा नेपालभरका साथै भारत र तेस्रो मुलुकबाट समेत हिन्दु धर्मका गुरु, अनुयायी तथा भक्तजनहरू आउने आयोजकको विश्वास छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *