गुरुङले मनाउने ‘ट्होटेँ’ पर्व के हो ?

गण्डकी । यहाँका गुरुङहरूले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलवार गुरुङ (तमु) समुदायमा यो पर्व मनाइन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटेँ पर्वको सुरुआत भएको तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले बताए ।

उनका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिइन्छ । ‘कबिला कालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ’, अध्यक्ष गुरुङले भने । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उनको भनाइ छ । यस दिनमा गुरुङहरूले प्रकृति पूजा गर्ने चलन छ । मौलिक सांस्कृतिक पर्वका रूपमा उनीहरूले ट्होटेँलाई मनाउँदै आएका छन् ।

पुर्खाको इतिहाससँग जोडिएको ट्होटेँ पर्वलाई वि.सं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए । तमुवान क्षेत्रका विभिन्न ठाउँबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँलाई संरक्षण गरेका हुन् । कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोलासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको । चैतमा उभौली र साउन उद्यौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ ।

‘तमु धिँ को आयोजनामा पोखरामा बृहत् सांस्कृतिक झाँकीसहित विविध कार्यक्रम गरेर यो पर्व मनाउँदै आएका छौँ’, अध्यक्ष गुरुङले भने, ‘यो पर्वले सामाजिक एकता र भातृत्वको सन्देश दिन्छ ।’ट्होटेँ पर्वले तमु समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनको भनाइ छ ।

‘ऐतिहासिक र सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको छुट्टै महत्व छ, यसमा गुरुङहरूको पहिचान झल्कन्छ’, अध्यक्ष गुरुङले भने, ‘दैवी शक्ति र प्रकृति पूजक आदिवासीको सामाजिक एकतामा यस्ता पर्वले थप मद्दत पु¥याइरहेको छ ।’

वि.सं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा समुदाय जागरूक बनेको उनको भनाइ छ । ट्होटेँ पर्वका दिन गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् ।

ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातीले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका चिजबहादुर गुरुङले पितापूर्खाका पालादेखि ट्होटेँ पर्व मनाउँदै आएको बताए । ‘यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन छ, यसो गर्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ’, उनले भने । गुरुङ समुदायको एकता र सांस्कृतिक पहिचान कायम राख्न पनि यो पर्वले सघाएको उनले बताए ।

ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको गुरुङको भनाइ छ । ‘गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरु गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ’, उनले भने, ‘पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास छ ।’

यस्ता चाडपर्वले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने गरेको डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले बताए । ‘ट्होटेँले सामाजिक एकताको सन्देश दिन्छ, आफ्नो समुदायका मानिसहरू भेला हुने, एकापसमा चिनजान गर्ने मौका पनि मिल्छ’, उनले भने, ‘यो पर्व गुरुङहरूको पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको छ ।’ ट्होटेँ पर्वका अवसरमा कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *