राष्ट्रियसभा उपाध्यक्षमा एमाले की नेकपा एस ?

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ । भोलि हुने निर्वाचनको आज उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ ।
बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुनेछ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।
फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुनेछ । निर्वाचन कार्यक्रम अनुसार आजै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावलाई भोलिको बैठकमा निर्णायार्थ प्रस्तुत गरिने छ ।
राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । नेकपा माओवादी केन्द्र का १७, नेपाली कांग्रेसका १६, नेकपा एमाले का १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई जना मनोनीत सदस्य छन् ।








