खेल्न अयोग्य बनेको दशरथ रंगशाला आकर्षक बन्दै (तस्बिरहरु)

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको सर्वत्र आलोचना भएको थियो ।

त्रिपुरेश्वरको दशरथ रंगशाला नै नेपाली फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान हो । तर यही मैदान खेल्न योग्य भएन र नेपालले विश्वकप छनोट चरणअन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमाउनु परेको थियो ।

एएफसीका प्रतिनिधिले नै निरीक्षण गर्दै दशरथ रंगशालामा खेल्नयोग्य नभएको प्रतिवेदन तयार पारेपछि नेपालबाट आयोजनाको अधिकार खोसिएको हो । त्यससँगै नेपाली खेलकुदको कार्यकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मैदानको संरक्षण गर्ने जिम्मेवारी पाएको एन्फाबाट त्यो अधिकार खोसेको थियो ।

त्यसयता राखेपले नै मैदानको संरक्षण गर्दै आएको छ । हाल माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि.ले दशरथ रंगशालाको घाँसे मैदानलाई निकै आकर्षक बनाएको छ । माउण्ट एभरेस्ट स्पोर्ट्स प्रा.लि. फुटबलको मैदानमा निर्माण सम्बन्धि काम गर्दै आएको संस्था हो । राखेपले सो कम्पनीलाई काम गर्न ठेक्का दिएको हो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले जिम्मेवारी पाएको एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशका प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन परिषद्कै जिम्मेवारीमा राखिएको बताए ।

अब एन्फाले दशरथ रंगशालामा खेल आयोजना गर्न परिषद्को स्वीकृति लिनुपर्ने सदस्य घिसिङको भनाइ छ । अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने राखेपले दशरथ रंगशालामा नदिने स्पष्ट पारेको छ ।

रंगशालाका मैदानमा मात्र नभएर सेन्थेटिक ट्य्राक समेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ । व्यावसायिक खेलाडीलाई मात्र रंगशालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ ।

राखेपले नेपाली खेलकुदमा खराब परिस्थिति दोहोरिन नदिन दीर्घकालसम्म दशरथ रंगशालाको व्यवस्थापकीय जिम्मेवारी आफैँमा सीमित राख्ने जनाएको छ ।

खेल्नका लागि योग्य खेल मैदानमा बनाइराख्न राखेपले काम गर्ने राखेप सदस्यसचिवको भनाइ छ । यदि यो मैदानमा कसैले आगामी दिन खेल हुन योग्य छैन भन्नु भन्दा अगाडि राखेपसँग पनि सहकार्य गर्न आग्रह गरे ।

राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रंगशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेण्ट प्रालीलाई जिम्मेवारी दिएको छ । तर माउण्ट एभरेष्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ ।

माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालीका निर्देशक थमन भुसालले पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम गरिरहेको बताए ।

भविष्य नयाँ प्रविधि प्रयोग गरेर यो रंगशालालाई राम्रो बनाउने भुसालको विश्वास छ ।

विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय छ ।

उक्त ‘होम म्याच’ दशरथ रंगशालामा नै खेल्न योग्य हुनेगरी राखेपले तयारी गरिरहेको छ । यद्यपि त्यसको लागि एन्फाको भूमिका पनि महत्वपूर्ण हुने राखेपले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *