तपाईँहरूले कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस् : रास्वपा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरूको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्यालले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनै पनि राजनीतिक दलले केही पहल नगरेको दाबी गरे । कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै उनले प्रश्न गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरूप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्ने कुरा खोज्न नपरोस् भन्दै अर्यालले चेतावनी दिए । अनियमितताको बारेमा खोज्न रास्वपाले पैसा दिएर खटाइरहनु नपर्ने उनको भनाइ थियो । ‘रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी । तपाईंहरू जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूप्रति कुरा गरिरहनुभएको छ । एकपटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ,’ अर्यालले भने, ‘ती सहकारीको अवस्था के छ र तपाईंले के गर्नुभयो आजसम्म ? ती सहकारीलाई प्रयोग गरेर । हामीले खोज्न नपरेस् ।’
रास्वपाले अहिलेसम्म नखोजेको जिकिर गर्दै खोज्नुपरेको दिन सबै अनियमितताको भण्डाफोर गर्ने अर्यालको भनाइ छ । सहकारीको समस्या समाधानको लागि काम गर्न उनले आह्वान गरे । ‘हामीले अब पैसा तिर्नुपर्दैन । हाम्रा साथीहरूले त्यसै खोज्छन्, तपाईंहरू कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारीमा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो, चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरोस्,’ अर्यालले भने, ‘हाम्रा साथीहरू तपाईंहरूले जस्तो पैसा तिरेर राख्नुपर्दैन । देशभरबाट तपाईंहरूको बारेमा नखोजेको मात्रै । तपाईंहरू इमान्दारी होओस् भनेर मात्रै बसिरहेको हो, हेरिरहेको हो ।’
अर्यालले सहकारी संस्थाका सञ्चालकहरूलाई, लगानी कर्तालाई वचतकर्तालाई कसरी रकम फिर्ता गर्नुहुन्छ भनेर सोध्न आवश्यक रहेको बताए । सहकारीका लगानीकर्तालाई जेलमा राखेर पीडितको वचत फिर्ता नहुने उनको भनाइ छ ।








