फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दाबी बीमाको १० लाख भुक्तानी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दाबी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दाबी अनुसार १० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

फरवार्डले मृतक मण्डलका श्रीमती चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रूपमा १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उनीहरूलाई एक कार्यक्रमबिच फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले मृत्यु दाबी रकम हस्तान्तरण गरे ।

मण्डलले २०७९ मंसिरमा फरवार्ड माईक्रोफाइनान्सको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैयाँ कर्जा लिएका थिए । उनले कर्जा बापतको चार लाख ४० हजार ७ सय ९७ रुपैयाँ भुक्तान गरेका थिए । फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दाबी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको हो ।

बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले फरवार्डले विपन्न परिवारका महिलाहरूलाई बिना धितो सरल तरिकाले गाउँगाउँमा समूह बनाई लघुकर्जा प्रदान गर्दा गाँउघरमा समयमा पैसा नभएका विपन्न समुदायका लागि वरदान साबित भएको बताइन् ।

घरको गर्जो टार्नका लागि र पैसा नभएर उपचार गर्न नपाएका, छोराछोरीलाई पढाउन पैसा नभएका, स–साना व्यवसाय सञ्चालन गर्न चाहनेहरूको लागि फरवार्डको लघुवित्त कार्यक्रम महत्त्वपूर्ण रहेको भन्दै उनले भनिन्,‘कठिन परिस्थितिमा सस्तो ब्याजदरमा लगानी गर्ने भएकाले गाउँघरमा मिटर ब्याजीहरुको बिगबिगी कम भएको छ । धेरैको घर खेत लिलाम हुनबाट बचेको छ । स–साना व्यवसाय थालेकाहरूले केही सम्पत्तिको जोरजाम गरेका छन् । यस कारण खराब कठिन समयमा साथ दिने संस्थाहरूको संरक्षण गर्ने हाम्रो दायित्व हो ।’ उपमेयर साहले भनिन् ।

हाल लघुवित्त संस्थाविरुद्ध स्वार्थ समूहले विभिन्न किसिमका अफवाहहरू फैलाउँदै गरेको भन्दै उनले लघुवित्त संस्थाहरूले समुदायमा लगानी गरेको कर्जा कुनै पनि हालतमा मिनाहा नहुने भएकाले त्यस्ता भ्रममा नपर्न सबैमा अनुरोध पनि गरिन् । साथै, उनले किस्ता तिर्न गाह्रो भएका सदस्यहरूको अवस्थामा संस्थाहरूले समेत बिचार गर्न आवश्यक रहेको औँल्याइन् ।

फरवार्ड माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजवंशीले वित्तीय संस्थाले गाँउगाँउमा गई विपन्न समुदायमा वित्तीय सेवा दिइरहेको र ग्राहक सदस्य लक्षित सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए । लघुवित्त संस्थाबाट समाजमा वित्तीय सेवा प्रवाह नहुने हो भने ग्रामीणस्तरबाट आर्थिक सुधारको कल्पना नै गर्न नसकिने बताए । ‘गाउँघरकै महिला दिदिबहिनीहरुको बचत रहेको र ती निक्षेपहरू फिर्ता नहुने हो भने अर्थतन्त्रमा ठुलो असर पुग्ने भएकाले कर्जा मिनाहाको माग आफैँमा गलत हो । कर्जा मिनाहा हुन्छ भन्ने भ्रममा नपरौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *