आईएमई लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ अन्तर्गत ‘ब्रोन्ज अवार्ड’ प्राप्त

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual (BPA) Report Award–2025- Bronze Award अन्तर्गत प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा हिजो मङ्गलवार काठमाडौँस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अवार्ड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
यस अवार्डले आईएमई लाइफले वित्तीय जबाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागतरुपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले उक्त सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे । साथै वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन थप मजबुत गर्ने जिम्मेवारी प्रदान गरेको बताए । उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुनुहुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू,सम्माननीय शेयरधनीहरू,नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।








