‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ कार्यान्वयन गर्न आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वोच्च अदालतले रोक लगाएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुँवरले सांसदहरूले विकास निर्माणको काम गर्न पाउनुपर्ने बताएका छन् । उनले निर्वाचनमा जाँदाखेरि सांसदहरूले जनताको विचमा विभिन्न प्रतिवद्धताहरु गरेको हुने भन्दै अहिले सांसदहरूलाई विकास गर्न नपाउने भनेर हात बाँधिएको बताए । उनले सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोकेर संसदलाई अपमान र सांसदहरूलाई अपहेलित गरेको बताए । उनले अदालतले संसदको अधिकार कटौती गरेको बताए । उनले सो कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न सरकारलाई आग्रह गरे ।

उनले भने –‘निर्वाचनमा जाँदाखेरि पनि जनताको बीचमा प्रतिबद्धता जनाएका थियौँ । यी कामहरु गर्नसक्छौँ भनेर । तर हामी सांसदहरूलाई हात बाँधेर विकास पनि गर्न नपाउने, विकास निर्माणका लागि माग पनि राख्न नपाउने तर बजेट चाहिँ हामीले पास गर्नुपर्ने । हामीले पास गर्नुपर्ने बजेटमा त्यसको स्वामित्व संसदले लिन पाउने कि नपाउने ? सांसदहरूले त्यसको अधिकारको लागि बोल्न पाउने कि नपाउने ? त्यसकारण निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोकिएको छ । यथाशीघ्र सञ्चालन गर्नका लागि, कार्यान्वयन गर्नका लागि सरकारले पहल गरोस् ।’

सांसद कुँवरले संसद शक्तिशाली भएको देशमा सरकार पनि शक्तिशाली हुने भन्दै नेपालमा भने सांसद र संसदीय व्यवस्थालाई अपमान गर्ने होडबाजी चलेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =