समितिमा अड्किएका विधेयकहरू निश्चित समयमा आउनैपर्ने व्यवस्था गरौँ : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदीय समितिहरूमा अड्किएका विधेयकहरू निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले विभिन्न संसदीय समितिहरूमा विधेयकहरू अड्किएको बताएका हुन् । उनले कुन समस्याका कारण समितिमा विधेयकहरू अड्किएका हुन् भन्ने सम्बन्धमा समिति सभापतिहरूसँग सभामुखले बुझ्नुपर्ने बताए । उनले समितिहरूमा अड्किएका विधेयकहरू निश्चित समयमा प्रतिनिधि सभामा आउनुपर्ने कार्यतालिका बनाएर अगाडी बढ्न सभामुखलाई आग्रह गरे ।

उनले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गर्नका लागि चुकिरहेको भन्दै विगतको जस्तैगरी सरकार र संसद सञ्चालन गर्नु नहुने बताए ।

उनले भने ‘मेरो सभामुखलाई विनम्र अनुरोध छ, समिति सभापतिज्युहरुसँग सभामुखज्यूले बैठक बोलाउनुपर्यो । कुन समितिमा किन त्यो विधेयक अड्किएको छ, त्यो विधेयक किन फेरि सदनमा फर्किएर आउँदैन ? समस्या के–के हुन् ? समस्या समाधान हामीले नै गर्ने हो । कुनैपनि हालतमा ती विधेयकहरू निश्चित समय कार्यतालिका बनाएर तिनीहरू संसदीय समितिबाट सदनमा आउने बाटो खोल्ने पहलका निम्ति म सभामुखज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले रणनीतिक सडकहरू र वैकल्पिक लोकमार्गहरु अलपत्र अवस्थामा रहेका भन्दै ती आयोजनाहरूलाई यसै आर्थिक वर्षमा सुचारु गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =