केन्द्रीय गठबन्धनमा आबद्ध दलहरूकै नेतृत्वमा प्रदेश सरकार बन्नु अनिवार्य छ : सांसद गैरे

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रदेश सरकार केन्द्रीय सत्तारुढ गठबन्धनमा रहेका दलहरूको नेतृत्वमा बन्नु अनिवार्य भएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गैरेले केन्द्रीय सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूकै नेतृत्वमा प्रदेश सरकार बन्नु अनिवार्य भएको बताएका हुन् । उनले संघीय सरकारको न्यूनतम साझा कार्यक्रम लागू गर्न र सरकारलाई सफल बनाउनका लागि प्रदेश सरकारहरूको पनि महत्व भएको बताए । उनले शीर्ष नेताहरूका बीचमा भएको सहमतिका आधारमा प्रदेश सरकारहरू बन्ने बताए ।

उनले भने ‘संघीय सरकारले निर्माण गरेको न्यूनतम साझा कार्यक्रम लागू गर्नको लागि र दलहरूको बीचमा भएको सहमतिको स्प्रिटमा सरकारलाई सफल बनाउनको लागि प्रदेश सरकारहरूको उत्तिकै महत्व छ । संघीय सरकार र प्रदेश सरकारमा बनेका योजना, कार्यक्रम र नीति अनुसार स्थानीय सरकारहरूलाई आवश्यक रुपमा बजेट दिने, बनेका योजनाहरूलाई कार्यान्वयन गर्ने यो कुरामा सफलता ल्याउनका लागि पनि एकरूपता हुन आवश्यक छ । त्यसकारणले सबै प्रदेशमा सत्ता सहकार्य गरेका दलहरूको नेतृत्वको सरकार बन्ने कुरा अनिवार्य छ । दलका शीर्ष नेताहरूका बिचमा भएको सहमति र त्यो सहमतिको स्प्रिटमा तलका कामहरु त्यही अनुसारले हुन्छन् । अहिले असमजस्यता त देखिएको छ । त्यसको नेताहरू बसेर थप समाधान सहित प्रस्तुत हुनुपर्छ र त्यो हुनेछ भन्ने मैले विश्वास राखेको छु ।’

सांसद गैरेले प्रदेश सरकार गठनका क्रममा देखिएका असमजस्यताहरुको हल हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *