दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १५ दिन हिरासतमा राख्न आदेश

भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

सोमबार दिल्लीको राउज एभिन्यु अदालतले मुख्यमन्त्री केजरीवाललाई १५ दिनसम्म न्यायिक हिरासतमा पठाउन आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मदिरा नीतिमा घोटाला गरेको आरोपमा त्यहाँको इन्फोर्समेन्ट डाइरेक्टोरेटले चैत ८ गते केजरीवाललाई घरबाटै पक्राउ गरेको थियो। त्यसपछि उनीमाथि इडीले आफ्नै हिरासतमा राखेर सोधपुछ गरेको थियो। इडीले केजरीवालले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको थियो।

अदालतमा आज इडीका वकिल एसभी राजुले अनुसन्धानमा केजरीवालले सहयोग नगरेको तथा फोनको पासवर्डदेखि विभिन्न प्रश्नहरूको उत्तर नदिएको बताएका थिए।

त्यसपछि अदालतले केजरीवाललई न्यायिक हिरासतमा पठाउन आदेश गरेको हो। अब उनलाई तिहाड जेल लगिने पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अदालतमा उपस्थित भएका केजरीवालले मोदी सरकारले ठीक नगरेको बताए। केजरीवाललाई अदालतमा ल्याउँदा त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

उनलाई तिहाड जेलमा लैजानका लागि त्यसतर्फ जाने सडकको सुरक्षा व्यवस्था पनि कडा बनाइएको बिबिसीले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *