खोटाङको ओख्रेमा आधारभूत अस्पताल सञ्चालन

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको छ ।

प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ ।

आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृतसहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ’, उनले भने, ‘अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेर्छन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना छ ।’

आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ । चिकित्सक डा मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा शव परीक्षणसमेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गरे । उनले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गरे ।

आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ । सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरू जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *