ऊर्जा उत्पादनमा हुने ग्यापको परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहिँ उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले नेपालमा ऊर्जा खपतको प्रकृति सुख्खा याम र वर्षा याममा एकै प्रकारको हुने भएपनि उत्पादन भने सुख्खा याममा चारगुणा कम हुने बताए ।

उनले यो ग्यापलाई मेटाउनका लागि नेपालमा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले यही समस्या समाधानका लागि नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा जानुपर्ने बताए ।

उनले भने ‘विश्वव्यापी रुपमा जलवायु परिवर्तनको प्रभावले सिर्जना गरेका जे चुनौतीहरू छन्, त्यो चुनौतीलाई सामना गर्नका लागि क्लिन इनर्जीको क्षेत्रमा बढी काम गर्नुपर्ने आवश्यकता छँदै छ । त्यसको निम्ति अन्तर्राष्ट्रिय स्तरबाट नै यसमा काम गर्नुपर्नेछ । बाह्रै महिना हाम्रो ऊर्जा खपतको प्रकृति र प्रवृत्ति समान खालको छ । उत्पादनको प्रकृति हेर्दा विशिष्ट छ । वर्षायाम र सुख्खा याममा ग्याप छ । चार गुणाको अन्तर छ । जसको प्रभाव र परिणाम वर्षा याममा बढी हुने भइराखेको छ । सुख्खायाममा आयात गर्नुपर्ने अवस्था भइराखेको छ । गत आर्थिक वर्षको हेर्ने हो भने सुख्खा याममा आयात बढी गरिराखेका छौँ । यो ग्यापलाई फिल गर्ने चुनौती ऊर्जा क्षेत्रमा छ । त्यो समस्या समाधान गर्नुपर्छ । तत्काल समस्या समाधानका लागि सोलारमा जानुको विकल्प छैन । त्यसैले यो आवश्यकता परिपूर्ति गर्न इनर्जी मिक्समा जानुपर्ने अवस्थामा छ । अहिले सोलार बढी उपयुक्त हुने देखिन्छ ।’

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरूले अनुमोदन समेत गरिसकेका जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =