भिठ्ठामोडमा सुक्खा बन्दरगाह बन्दै, स्थानीय उत्साहित

महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि महोत्तरीका जनप्रतिनिधि र उद्यमी उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्ती नाका भिठ्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर जिल्लाका जनप्रतिनिधि र व्यवसायीले शनिबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

‘हामीले भिठ्ठामोड भन्सारमा सुक्खा बन्दरगाहको सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ’, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले भने, ‘उनले विज्ञ टोलीबाट सम्भाव्यता अध्ययन गरेर काम अघि बढ्ने आश्वासन दिएका छन् ।’ जिल्लाका विभिन्न नगरपालिका जनप्रतिनिधि तथा जलेश्वर, मटिहानी, गौशाला र बर्दिबासका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई काठमाडौँमै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

वि.सं २०२६ मा भिठ्ठामोडमा स्थापित भन्सार कार्यालयको स्तरोन्नति गर्दै तेस्रो मुलुकसँग आयात निर्यात व्यवस्थित गर्न सुक्खा बन्दरगाह निर्माण गर्नुपर्ने जनप्रतिनिधि र व्यवसायीको माग थियो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले सुक्खा बन्दरगाह निर्माण गर्न विज्ञसँग छलफल गरी काम अघि बढाउने प्रधानमन्त्रीबाट प्रतिबद्धता पाएको बताए ।

प्रधानमन्त्रीसँगको भेटमा महोत्तरी–१ र ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र महेन्द्रकुमार राय एवं जलेश्वर, मटिहानी, गौशाला र लोहारपट्टी नगरपालिकाका प्रमुख क्रमशः सुरेश साह सोनार, हरिप्रसाद मण्डल, डा दीपेन्द्र महतो र शैलेन्द्र यादव सहभागी थिए । त्यसैगरी बर्दिवास, गौशाला, जलेश्वर र मटिहानी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसमेत भेटमा सहभागी थिए ।

भिठ्ठामोड वीरगञ्जपछि मधेसको सबैभन्दा बढी चल्तीको नाका हो । तेस्रो मुलुकसम्म आयातनिर्यात गर्न कोलकाता बन्दरगाहबाट भिठ्ठामोड नाका वीरगञ्जभन्दा कम दूरीमा रहेको जनप्रतिनिधिको भनाइ छ । उनीहरूले भिठ्ठामोड (जलेश्वर) भन्सार कार्यालयको पूर्वाधार र जनशक्ति वीरगञ्जपछि सबैभन्दा राम्रो रहेको प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।

भारतको कोलकातादेखि जयनगरसम्म सञ्चालनमा रहेको रेलमार्गसँगै जोडिएर नेपालतर्फ जयनगर–बर्दिवास रेलसेवा विस्तारको काम भइरहेको छ । बर्दिवासमा रेल्वेले अधिग्रहण गरेको ५२ बिघा क्षेत्रफलको जग्गामा कार्गो व्यवस्थापन गरी भिठ्ठामोडमा सुक्खा बन्दरगाह निर्माण गर्नसके यस भेगको व्यापार फस्टाउने व्यवसायीको भनाइ छ ।

प्रधानमन्त्रीसँगको भेटमा कोरोना महाव्याधी र आर्थिक मन्दीका कारण राहत दिन बैंकले कर्जा अवधि लम्ब्याउनुपर्ने र थप ऋण प्रवाह गर्नुपर्ने विषय ध्यानाकर्षण गराएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =