पाकिस्तान क्रिकेट टिमको कप्तानमा बाबरको कमब्याक

काठमाडौं । बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् ।
यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।
भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फर्म्याटको कप्तानी पद त्याग गरेका थिए ।
पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबरलाई पुनः नियुक्त गरिएको जनाएको हो । बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी–२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।
यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी–२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।
अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्युजील्यान्ड, आयरल्यान्ड र इंग्ल्यान्डविरुद्ध टी–२० क्रिकेट खेल्दैछ ।








