जथाभावी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख राजस्व

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो ।

महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिवानाको नियम लागु भएकोमा हालसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले २७ लाख दुई हजार छ सय पाँच जरिवानाबापत राजस्व सङ्कलन गरिसकेको छ ।

‘घर,पसल र कार्यालयबाट निस्किने फोहर जथाभावी फाल्ने प्रवृत्ति छ’,सरसफाइ शाखा प्रमुख मियाँले भने,‘त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ ।’अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ ।

सफा,स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । वर्षायाम सुरु हुनुअघि महानगरपालिकाभित्रका सबै साना ठूला नाला सफा गरिसक्ने प्रमुख मियाँले बताए ।

‘मेयर साबको मुख्य चाहना सफा,सुन्दर र वैभव वीरगञ्ज बनाउने हो’,प्रमुख मियाँले भने,‘त्यही योजनाअनुसार बिहान,दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ ।’

केही वर्षअघिसम्म वीरगञ्ज महानगर दुर्गन्धित नगरका रूपमा चिनिन्थ्यो । वीरगञ्जलाइ सफा महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ । तर बजेट अभावको कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *