लैंगिक समावेशी हुनेगरी बजेट ल्याउन अर्थमन्त्रीलाई सांसद गैरेको आग्रह

काठमाडौँ । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी आर्थिक वर्षको बजेट लैंगिक समावेशी ल्याउन अर्थमन्त्री समक्ष आग्रह गरेकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गैरेले सरकारले ल्याएको बजेट लैंगिक समावेशी हुन नसकेको बताएकी हुन् । उनले महिला, दलित, युवा तथा पछाडि परेका क्षेत्र केन्द्रित बजेट आउन नसकेको भन्दै आगामी आर्थिक वर्षको बजेट लैंगिक समावेशी हुनेगरी ल्याउन अर्थमन्त्रीलाई आग्रह गरिन् । उनले विकासमा समानता ल्याएर पछाडि परेका क्षेत्र र भूगोललाई न्याय दिनुपर्ने बताइन् ।

उनले भनिन् ‘महिला, दलितहरूको हिसाबले, युवा, पछाडि परेको क्षेत्रको हिसाबले हेर्दा हाम्रो लैंगिक बजेट कहाँ छ ? हामीले हाम्रो क्षेत्रका पछाडि परेका जनतालाई उकास्ने बजेट कुन शीर्षकमा छ ? हामीले देखेनौँ । परम्परागत बजेट भयो । पञ्चायतकालमा जे गर्यौँ, आज हाम्रो योजना बाँडफाँट शक्तिको आडमा जसले सक्छ उसले लैजाने खालको भयो । यस्तो खालको परिकल्पना हाम्रो संविधानले गरेको छैन । अबको बजेट आउँदा लैंगिक समावेशी बजेट आउनुपर्यो । जसले गर्दा पछाडि परेको क्षेत्र र भूगोललाई विकासमा समानता ल्याउन सक्छौँ । न्याय दिलाउन सक्छौँ । न्यायपूर्ण वितरण प्रणालीलाई अपनाउनको निम्ति सबैलाई समेटेको बजेट आओस् । अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले योजनाको बाँडफाँट शक्तिको आडमा हुने गरेको भन्दै त्यस्तो परिकल्पना संविधानले नगरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *